Thursday, April 3, 2014

यथार्थ नरसाङ गोम्पाको

थकाली इतिहास, संस्कृति, भूगोल र नरसाङ गोम्पासम्बन्धी डा. रमेश ढुंगेलको २४ भदौ २०७० र ३ फागुन २०७० मा प्रकाशित लेखमा उहाँले दिनुभएको अभिव्यक्तिले कुनै पनि व्यक्ति र समाजले आफ्नो जीवन पद्धति, संस्कार, संस्कृति, परम्परा, आफ्नो स्थानीय विशिष्टता, आफ्नो पुख्र्योली थलोको साधन र स्रोतको उपयोग र विकास, तिनका संरक्षण र संवद्र्धन गर्न जुन नेपालको अन्तरिम संविधान, २०६३ ले दिएको हक छ त्यो हकलाई ठाडो उल्लंघन गरेको छ । 
उहाँको लेखको अभिव्यक्तिले एउटा समाजको राजनीतिक, सामाजिक, आर्थिक पक्षहरूमा राज्यले प्रदान गर्ने स्वतन्त्रता, मानव अधिकार, स्वायत्ता, आत्मनिर्णयको अधिकार, स्वविवेकलाई प्रयोग गर्न पाउने बौद्धिक अधिकारजस्ता तमाम् प्रावधानहरूलाई कुण्ठित पार्नुभएको छ । थकाली समाजलाई अझ सीमान्त, अझ कठोर परिस्थितितर्फ धकेलेर अल्पसंख्यक थकालीको अस्तित्व, पहिचान र अपनत्वमाथि एउटा ठूलो ऐतिहासिक आक्रमण भएको सम्पूर्ण थकालीहरूले महसुस गरेका छौं । नरसाङ गोम्पाको सवालमा डा. ढुंगेलले उठाउनुभएको मुद्दा ज्यादै आपत्तिजनक छ । उहाँको भनाइमा– नरसाङ गोम्पा निङ्मापा सम्प्रदायअन्तर्गतको तिब्बती बौद्ध गोम्पा भएको र यो गोम्पा इ.सी. संवत् ९औं शताब्दीमा स्थापना भएको हो । र, भगवान् नरिच्ह्योव उहाँका लागि अवलोकेतेश्वर धातुको मूर्ति क्षेत्रपालको रूपमा धर्म फैलाउन वा धर्म स्थापित गर्न ङरी राज्यबाट थाक क्षेत्र नरसाङमा ल्याई नरसाङ गोम्पाभित्र स्थापना गरिएको हो भन्ने लेखकको जिक्रीमा हामी नरसाङ गोम्पासम्बन्धी विभिन्न किसिमले तहगत रूपमा विश्लेषण गरेर सत्य–तथ्य बाहिर ल्याउने कोसिस गर्ने छौं ।
यसलाई हामीले पहिलो खण्डमा गोम्पा स्थापना भएको समय र काल, दोस्रोमा गोम्पाको वास्तविक दर्शन र उद्देश्य, तेस्रोमा भगवान्को प्रकृति, चौथोमा ङरी क्षेत्रबाट ल्याइएको थियो वा स्थानीय उपज थियो, पाँचौंमा गोम्पाको पुजारी ट्हुङ्प हो कि लामा हो, छैटौंमा नरसाङ गोम्पामा झुमाको व्यवस्था थियो वा थिएन जस्ता सबै पक्षहरू निष्पक्ष ढंग्ले प्रमाणसहित यहाँ विश्लेषण गरेका छौं ।
समय र कालको सन्दर्भमा– इ.सी. संवत् ८औं शताब्दीताका बुद्ध धर्म भारतबाट तिब्बत पुगेको थियो । त्यतिबेला तिब्बतको राजकीय धर्म प्राचीनतम बोन धर्म सशक्त ढंगले तिब्बती समाजमा आत्मीय रूपले एउटा जीवन पद्धति र तिब्बती सभ्यता बनिसकेको थियो । त्यस्तो गहिरो रूपमा तिब्बती समाजमा अन्तर–घुलन भएको धर्मलाई उखेलेर फ्याक्ने प्रयासमा बुद्ध धर्मलाई कैयौं शताब्दी अथक परिश्रम गर्दै रह्यो । बोन धर्म र बुद्ध धर्मबीच अनेकौं द्वन्द्व र हिंसात्मक घटनाहरू घटेर तिब्बती समाज लामो समयसम्म द्वन्द्वबाट आक्रान्त रहिरह्यो । तिब्बती राजाहरूको इतिहासको कालखण्डमा बुद्ध धर्मको मार्गमा आस्था राख्ने राजाहरूले बुद्ध धर्मका करुणाका पुजारी लामा पद्धति बढी सहयोगी हुने देख्दथें ।
तिब्बती बुद्ध मार्गी राजाहरूलाई प्राचीनतम बोन धर्मका शक्तिपीठका सेनरब पुजारीहरू राजकाजमा सदा खतरा रहने र यस्तो खतराबाट उन्मुक्ति पाउन राज्यले बुद्ध धर्मको पक्षमा आफ्नो बलियो समर्थन जनाएको थियो । फलस्वरूप इ.सी. संवत् ११औं शताब्दीमा तिब्बती बुद्ध धर्म तिब्बती राजकीय धर्म बन्न सफल भयो । त्यही समयबाट मात्र तिब्बती बुद्ध धर्म छिमेकी राष्ट्र वरिपरि प्रचार–प्रसार सुरु भएको मानिन्छ । त्यसैले तिब्बती बुद्ध धर्म तिब्बतको दक्षिणी भू–भाग ल्हो मुस्ताङ, १२ गाउँ, ५ गाउँ र थाक क्षेत्रमा ई.सी. संवत् ११औं र १२औं शताब्दीताका मात्र प्रवेश भएको ऐतिहासिक प्रमाण लिखित रूपमा पाउन सकिन्छ (स्रोतः न्यु होराइजन बोन स्टडिज भो.२ पे.नं. ८ लेखक पर केभरने, ओस्लो विश्वविद्यालय) । अर्को कुरा स्थलगत भ्रमण गरेर हेर्ने हो भने पनि थाक क्षेत्रमा तिब्बती बौद्ध गोम्पाहरू जति पनि छन् तिनको स्थापनाको समयको प्रमाण केलाउँदा यस्तो आँकडा देखिन्छ । थाक कोवाङस्थित म्हकिल्हकाङ बौद्ध गोम्पा इ.सी. संवत् १५औं मा स्थापित भएको पाइन्छ । त्यो गोम्पा नै थाक क्षेत्रमा भएको सबैभन्दा पुरानो तिब्बती बौद्ध गोम्पा हो भनी किटान गरेको छ । त्यसपछि थाक टुकचेको रानी गोम्पा ई.सी. संवत् १६औं शताब्दीमा स्थापित भएको मानिन्छ । त्यस्तै, गरेर थाक ठिनीस्थित कुतसेव तेरेंगा गोम्पा इ.सी. संवत् १६८४ मा स्थापित भएको प्रमाण देखिन्छ । समय र कालको हिसाबले अर्को प्रमाण यस्तो छ– तिब्बती योगी जो– नाग कुनगा ग्रोल चोगको जीवनीमा उल्लेख भएअनुसार मुस्ताङमा बुद्ध धर्मको प्रवेश– औपचारिक रूपमा नेपालको यो भू–भागमा तिब्बती बुद्ध धर्मको प्रभाव र प्रसार भएको समय ई.सी. संवत् १५औं शताब्दीबाट भएको देखिन आउँछ (प्राचीन नेपाल १९९३ पे.नं. २४) ।
यी सबै प्रमाणहरूलाई मध्यनजर राखेर हे¥यौं भने नरसाङ गोम्पा बौद्ध गोम्पाको रूपमा इ.सी. संवत् ९औं शताब्दीमा नै स्थापित भएको भन्ने डा. ढुंगेलको जिक्री केवल काल्पनिक, मनगढन्ते र अव्यावहारिक अभिव्यक्तिसिवाए अरू केही होइन भन्ने कुरा स्वतः स्पष्ट हुन आउँछ । हाम्रो अर्को प्रमाण– नरसाङ गोम्पा बौद्ध गोम्पा होइन भन्ने सन्दर्भमा हाम्रो दर्शनसम्बन्धीको केही मूलभूत कुराहरू छन्– हामी नरसाङ गोम्पालाई शक्तिपीठको रूपमा पुज्दै आएका छौं । थकाली आदि पुर्खाहरू र भगवान् नरिच्ह्योवबीचको वाचा, बन्धन र सर्तहरू यसप्रकार छन् –
क) भगवान् नरिच्ह्योवलाई थाक क्षेत्रको संरक्षकको रूपमा नरसाङ फाँटमा नरसाङ गोम्पा बनाई त्यहाँ विराजमान राख्नुपर्ने ।
ख) भगवान्को पूजापाठ गर्दा र अरू रेखदेख गर्दा विधुवा महिला, रजस्वला भएकी नारी मेरो सामुन्ने नल्याउनु ।
ग) दुःखमा परेका, बर्खी बारेका कुनै पनि मानिस मेरो सामुन्ने नल्याउनु ।
घ) बाबुआमा नभएका, शरीरमा खोट भएका कुनै पनि कुमार केटालाई मेरो स्तुतिगानमा संलग्न नगराउनु ।
ङ) म शक्तिपीठ हुँ ।
च) कुमार यात्रामा कुमार केटाहरूलाई शक्तिको आराधना गर्ने अभ्यास सिकाउनु ।
छ) गोम्पा÷मन्दिर वरिपरि कुनै पनि गाउँवस्ती हुनुहुँदैन र गोम्पा÷मन्दिर बनाउने स्थल वरिपरि प्रशस्त मात्रामा धूपी, सल्ला र फलफूलका बोटबिरुवाहरू लगाउनुपर्नेछ । यिनै वाचा बन्धनअनुसार कुमार यात्रामा कुमार केटाहरूलाई ढाल, तरबार खेलाउन सिकाइन्छ, भूतप्रेतलाई परास्त गर्न धनुषवाण र मन्त्रजप सिकाइन्छ । घोडचढी तालिम सिकाइन्छ । स्थानीय क्षेत्रमा भएका थकाली शक्तिपीठहरूमा गएर पूजाआजा गरेर आशीर्वाद लिने कार्य सिकाइन्छ ।
यस हिसाबबाट हेर्दा पनि नरसाङ गोम्पाले शक्तिपीठको प्रतिनिधित्व गरेको देखिन्छ नकि बौद्ध दर्शनअनुसार करुणा देवताको । यो गोम्पाको अर्को सर्त छ, पुजारी सन्दर्भमा । यो गोम्पा शक्तिपीठको गोम्पा भएकाले बौद्ध दर्शनअनुसार करुणाको पुजारी लामा नियुक्ति गरेर नरिच्ह्योव भगवान्को पूजाआजा गर्न मिल्दैन । किनभने नरिच्ह्योव शक्तिपीठ हो । त्यसैले नरिच्ह्योव भगवान्को पूजा गर्न ट्हुङ्प पुजारी नै चाहिन्छ किनभने ट्हुङ्प पुजारी शक्तिपीठका पुजारी हुन् । जो थकाली जातिकै हुनुपर्छ । यो हिसाबले पनि नरसाङ गोम्पा बौद्ध गोम्पा होइन भन्ने कुरा स्वतः प्रमाणित हुन जान्छ । अर्को प्रमाण यस्तो छ– यो गोम्पामा झुमाले बत्ती बाल्ने, पानी चढाउने र गोम्पा बढार्ने काम गर्न पनि मनाही गरेको छ । किनभने झुमा (भिक्षुणी) स्वाभाविक रूपले प्रकृतिको नियमअनुसार महिनामा एक चोटी रजस्वला क्रिया त भइहाल्छ । रजस्वला भएकी नारी मेरो सामुन्ने आउन नदिनु भनेर भगवान् आफैंले सर्त राखेका हुन् । अनि कसरी नरसाङ गोम्पामा झुमाको व्यवस्था पनि थियो भनेर भन्नु । जुन गोम्पामा दर्शनको हिसाबले लामा नियुक्ति गर्न नमिल्ने र रीतिरिवाजको हिसाबले झुमा नियुक्ति गर्न नमिल्ने गोम्पालाई कसरी तिब्बती बौद्ध गोम्पा हो भनेर जिक्री गर्न मिल्छ †
अर्को प्रमाण यस्तो छ– सम्पूर्ण मुस्ताङ क्षेत्र ल्हो मुस्ताङ, १२ गाउँ, ५ गाउँ र थाक क्षेत्र भौगोलिक र वस्तुशास्त्रको हिसाबले शक्तिपीठका केन्द्र हुन् । यसको अर्को प्रमाण– प्राचीन संस्कृतिका शास्त्रहरू जस्तै, स्कन्ध पुराण, भागवत पुराणमा यो क्षेत्र नेपाल र भारतका ठूला–ठूला ऋषिमुनीहरूको तपोभूमि थियो । नेपाल र भारतका राजामहाराजाहरू आफ्नो शक्ति अभिवृद्धि गराउन यो क्षेत्रमा गएर शक्तिको आराधना गर्थे । अर्को प्रमाण– थकालीहरू मूलतः शक्तिपीठका आराधना गर्ने समुदाय हुन् । जस्तो मुक्तिनाथ क्षेत्रमा पानीमा, माटोमा, ढुंगामा आफैं अग्नि बलेको देखिन्छ । यो दृश्यले सम्पूर्ण मुस्ताङ भू–भाग शक्तिपीठको केन्द्र हो भन्ने कुरा स्वतः प्रमाणित हुन जान्छ । मुस्ताङ क्षेत्रमा धेरै समयपछि कालान्तरमा मात्र तिब्बती बौद्ध गोम्पा बने, मुक्तिनाथमा हिन्दू मन्दिर बन्यो । जोमसोममा अहिले गणेश मन्दिर बनेका छन् । यिनीहरूको अस्तित्व राष्ट्रिय जीवनको एक अंगको रूपमा गणना गर्न सकिन्छ ।
थकाली संस्कृति र सभ्यताको मौलिक अंग मान्न सकिँदैन । यी सबै प्रमाण हुँदाहुँदै र साथैमा थकाली आफैं आफ्नो जीवन संस्कारको जीवित इतिहास मौजुद हुँदा थकाली जातिको संस्कृतिको धरोहर मानिने नरिच्ह्योव भगवान् विराजमान हुनुभएका नरसाङ गोम्पालाई तिब्बती बौद्ध गोम्पा हो भनेर एउटा व्यक्तिले एउटा सिंगो समाजको अगाडि जिक्री गर्नु बालहठसिवाए अरू केही होइन भन्ने हाम्रो मान्यता रहेको छ । यस्तो जिक्री गर्न छोड्नु नै सबै नेपालीको हितमा हुनेछ । अर्को कुरा नरसाङ गोम्पाको बारेमा बुझ्नुपर्ने यथार्थ के हो भने नरसाङ गोम्पा आध्यात्मिक र अलौकिक शक्तिकेन्द्र भएको नाताले नरसाङ गोम्पा धर्म, गुरु, आचार्य, स्वामी भन्दा कैयौं गुणामाथिको परम ईश्वर– परमेश्वरको गोम्पा हो । त्यसैले हामीले बारबार भनेका छौं कि यो गोम्पालाई हामीले हिन्दू, बौद्ध र बोन धर्मसँग नजोडी केवल शक्तिपीठको रूपमा पूजाआजा गर्दै आएका छौं ।
अर्को कुरा थाक क्षेत्रको स्थानीय विशिष्टता, स्थानीय उपज, स्थानीय धरोहर, स्थानीय भौगोलिक सम्पदा भन्नु नै नरिच्ह्योव भगवान् हुन् । यस्तो स्थानीय सम्पदालाई तिब्बतबाट ल्याएर स्थापना गरेको भन्नुले लेखकको अध्ययन प्रणालीमा केही खोट छ भन्ने हामीले बुझेका छौं । लेखकले एकोहोरो स्रोतको मात्र प्रयोग गर्नुभएको छ । यति ठूलो संसारमा लेखकले कुनै पनि विषयमा कलम चलाउँदा बहुआयामिक स्रोतहरूको उपयोग गर्नुपर्छ र साथैमा जुन समाजको बारेमा लेख्न खोजिएको छ त्यो समाजसँग लेखकको गहिरो, आत्मीय रूपमा अन्तरसम्बन्ध हुनु जरुरी छ । अनि मात्र केही ठोस कुराहरू लेख्न सकिन्छ । नरसाङ गोम्पा तिब्बती बौद्ध गोम्पा होइन भन्ने अनेकौं उदाहरण छन् । जस्तै, भगवान् नरिच्ह्योव डा. ढुंगेलका लागि अवलोकेतेश्वर धातुको मूर्ति तिब्बतको ङरी क्षेत्रबाट ल्याई नरसाङ गोम्पामा स्थापना गरिएको हो भन्ने भनाइलाई निम्न घटनाले पनि अस्वीकार गर्छ ।
जस्तै, थाक क्षेत्रमा थकालीहरूको सबैभन्दा पुरानो वस्ती नरसाङ फाँटमा रहेको तुलाचन वस्तीलाई मानिएको छ । अनि त्यहाँका तुलाचनहरूलाई धोचो भन्ने ठाउँमा सारिएको थियो । यो घटना विसं १४०० देखि १५०० सम्मको मानिन्छ । नरिच्ह्योव भगवान्का लागि गोम्पा बनाउन भगवान्कै सर्तअनुसार गोम्पा वरिपरि कुनै पनि वस्ती हुनुहुँदैन भन्ने आदेश भएअनुसार नरसाङको वस्ती धोचोमा सारेको हुनुपर्छ भन्ने स्थानीय बासिन्दाहरूको आमधारणा रहेको छ र साथै मुस्ताङ दिग्दर्शन– लेखक नारायणप्रसाद क्षत्रीले आफ्नो पुस्तक पेज नं. ३२५ मा सिंजाबाट थकाली जातिका आदिपुर्खाहरू (थाचन पुर्खाहरू) विसं १४०० ताका थाक क्षेत्रमा आएका र थाचन पुर्खाहरू र नरिच्ह्योव भगवान्को साक्षात भेट भएको समय पनि त्यही भएकाले भगवान्को आदेश भएअनुसार आपसी छलफल गरेर आफूभन्दा पुरानो बासिन्दा तुलाचनहरूलाई नरसाङबाट धोचो सारेर नरसाङ गोम्पा स्थापना गरेको हुनुपर्छ भन्ने उहाँको भनाइ छ र साथै थकालीहरूको धर्मग्रन्थ -हप र अरू मौखिक परम्परा, जनश्रुति आदि स्थानीय स्रोतले पनि यो घटनाको सत्यताको पुष्टि गर्दछ । त्यसैले नरसाङ गोम्पा स्थानीय उपज हो भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन । यस कुरालाई एलोङ दि कालीगण्डकीका लेखक रतनकुमार राईको पनि समर्थन रहेको छ ।
थकाली संस्कृति र अरू धर्मदर्शन कुरा
धर्म र दर्शनको कुराहरू प्रायः सहज रूपमा बुझ्न सकिने विषय हुन् । तर, जब संस्कृतको विषय आउँछ यो विषय नै विविधताले भरिएको हुन्छ । संस्कृतिको मुहान विविध हुन्छन् । त्यसैले संस्कृतिको कुनै गुरु हुँदैन, इन्स्टिच्युसन हुँदैन र लिखित शास्त्रको पनि अभाव हुन्छ । यही संरचनाभित्र नरसाङ गोम्पाको वास्तविकतालाई बुझ्नु जरुरी छ । होइन भने नरसाङ गोम्पाको बारेमा धर्म र दर्शनको घेराभित्र बसेर बुझ्ने प्रयास गरियो भने लेखक भ्रममा पर्ने खतरा रहन्छ । अर्को कुरा संस्कृतिको कुरा बुझ्नु छ भने उसले अध्यात्मिकताको ज्ञानको राम्रो जानकारी हुनुपर्छ । अध्यात्मिकताको राम्रो जानकारीविना संस्कृतिको गहिराइमा प्रवेश गर्न सकिँदैन । त्यसैले नरसाङ गोम्पाभित्र भएका पुस्तकहरू जे–जति छन् ती पुस्तकहरूलाई नरिच्ह्योव भगवान्सम्बन्धीको पुस्तक भन्न मिल्दैन ।
किनभने नरिच्ह्योव भगवान्को गुरु हुँदैन, पुस्तक पनि हुँदैन । उहाँको केही छोटकरीमा आदेश, वाचा बन्धन र सर्तका केही लिखोटहरू मात्र हुन्छन् । पुस्तक हुनु सम्भव छैन । पुस्तकका ठेली हुनु भनेको गुरु परम्पराको धर्ममा हुने कुरा हो । यस्ता गहन कुराहरू नबुझीकन केवल बौद्धिकताको भरमा विषयवस्तुलाई अध्ययन गर्दा बुझाइमा नै खोट हुन्छ र जुन खोट स्वयंले देखेको हुँदैन । अनि बेमतलवको लेखहरू, पुस्तकहरू, दस्तावेजहरू तयार पार्छन् र संसारलाई द्वन्द्वको घेरामा धकेल्छन् । यही समस्या अहिले थकाली संस्कृति र नरसाङ गोम्पाको सन्दर्भमा उत्पन्न भएको छ । हामीले भनेका छौं नरसाङ गोम्पा धर्मभन्दा माथिको इन्स्टिच्युसन हो । अनि यो गोम्पालाई तिब्बती बौद्ध गोम्पासँग जोड्नुको के सान्दर्भिकता रहन्छ ?
धर्मभित्र दर्शन र रीतिरिवाजको भिन्नता
कुनै पनि धर्मको एउटा मूल दर्शन हुन्छ र एउटा मूल रिवाज हुन्छ । जस्तो बुद्ध धर्मको मूलदर्शन करुणा हो । मूर्तिको पूजा नगर्नु उसको मूल रिवाज हो । त्यस्तै किसिमले क्रिस्चियन धर्मको मूल दर्शन प्रेम हो र प्राथना गर्नु उसको रिवाज हो । त्यस्तै, किसिमले नरिच्ह्योव भगवान्को मूल दर्शन शक्ति हो र शक्तिको आराधना गर्नु उसको रिवाज हो । यो मन्त्रलाई एकचोटी राम्ररी विश्लेषण गर्ने हो भने बुद्ध धर्म र नरिच्ह्योव भगवान्को कुनै अन्तरसम्बन्ध नै देखिँदैन ।
हाम्रो प्रश्न समय र कालको हिसाबले भन्नुपर्दा हामीले माथि दिएको आँकडाअनुसार नरसाङ गोम्पासम्बन्धी लेखकको सम्पूर्ण अभिव्यक्तिहरू गलत सावित हुन गएको छ ।
- नरसाङ गोम्पासम्बन्धीको कुनै पनि विषयमा स्थानीय स्रोत, स्थानीय जनता, स्थानीय जनश्रुति भरपर्दो हुने कि बाहिरी स्रोत भरपर्दो हुने ?
- नरसाङ गोम्पासम्बन्धीको थकाली रीतिरिवाज जो जुन किसिमले चलिरहेको छ त्यसलाई अहिले आएर उल्टाउने सम्भावना कति हुन्छ ?
- नरसाङ गोम्पा स्थानीय उपज हो । यो बाहिरबाट ल्याएको सम्पदा होइन । यही नै सर्वथा थकालीहरूको विश्वास हो । यस कुराको विरोध गर्ने कसैलाई कुनै पनि अधिकार छैन । यो बिल्कुल थकाली समाजको आन्तरिक मामला हो ।
- इ.सी. संवत् ९औं शताब्दीताका सम्म पदमसम्भव बाँच्ने सम्भावना नै रहँदैन । त्यसैले ९औं शताब्दीताका पदमसम्भवले थाक क्षेत्रमा आई मृगको रूप लिई अवलोकेतेश्वरमा परिणत भई अवलोकेतेश्वर देवताको रूपमा नरसाङ गोम्पा स्थापना भएको भन्ने जुन काल्पनिक कथा बनाइएको छ, यो काल्पनिक कथाको समय र कालको परिधिबाट हेर्दा पनि त्यो घटना घट्नु असम्भव देखिन्छ ।
- अर्को कुरा विसं १४०० ताका थकाली जातिको आदिपुर्खाहरू र नरिच्ह्योव भगवान्को साक्षात भेट भएको, बाँचा बन्धन भएको जीवित इतिहासको स्रोतलाई नजरअन्दाज गर्दै काल्पनिक स्रोतलाई अगाडि सारेर द्वन्द्व निम्त्याउन अनेक उपाय रच्ने लेखकको नियत के छ ?
- लेखकको भनाइमा पदमसम्भव थाक क्षेत्रमा आई भूतप्रेतमा विश्वास गर्ने झाँक्री प्रथालाई समाप्त पारेर, मारकाट गर्ने प्रथा हटाई शुद्ध बुद्ध धर्म स्थापना गरी तिब्बत फर्केको कुरा काल्पनिक छ किनभने हामी आफैं थाक क्षेत्रको भूमिपुत्र हौं । त्यहाँ के–के भयो त्यो जति बढी हामीलाई थाहा हुन्छ अरूलाई त्यति थाहा हुँदैन । अर्को कुरा हाम्रो पितृ पूजा गर्दा आज पनि मासुको परिकार चढाउनै पर्छ । लेखकले अनावश्यक रूपमा बुद्ध धर्मको आड लिएर अर्काको आन्तरिक कुरामा हस्तक्षेप गर्न आउनु राम्रो कुरा होइन ।
- लेखकलाई थाक क्षेत्रसँग के रिसइबी छ ? थाक क्षेत्र धर्मको प्रकाश नपुगेको अध्याँरो भूमि भनी बयान गर्नुभएको छ । तिब्बतीहरूका लागि थाक क्षेत्र अँध्यारो भूमि भयो । धर्मको नाममा देशलाई, जनतालाई दास बनाउँदा देशै छोडेर अर्काको देशमा शरण लिन पुगेका समाजको धर्मले दिएको पुण्य त्यही हो ? राम्रो काम गरेको भए अवश्य देश निकाला हुनुपर्ने थिएन । अवश्य केही त्रुटिपूर्ण कामहरू गरेको हुनुपर्छ । उनीहरूको कामकारबाहीमा दोष हुनुपर्छ । एउटा दोष त प्रत्यक्ष देखिन्छ । हाम्रा आदिपुर्खाहरूलाई धर्मको नाममा देश निकाला गरियो । हाम्रा आदि पुर्खाहरूले बडो संघर्ष गरेर थाक क्षेत्रलाई आफ्नो पितृभूमि बनाए । त्यहाँ पनि झाँक्री प्रथा मानेको भनी दमण गर्न आए । झाँक्री प्रथा मान्ने र झाँक्रीसमेतलाई लखेटेर मारेको मात्र नभएर थकालीहरूको संस्कृतिको धरोहर नरसाङ गोम्पासमेतलाई हाम्रो हो भनेर गलत इतिहास लेखाउने तिब्बतीहरूको इतिहास पछ्याउन लेखकलाई सुहाउँदैन ।
अर्को सन्दर्भमा भन्नुपर्दा नरसाङ गोम्पामा बुद्ध र बुद्धसँग सम्बन्धित सबै मूर्ति पहिले राखिएको हुनाले त्यसैसँग सम्बन्धित नयाँ मूर्तिहरू बनाएर राख्न सकिने जुन आदेश लेखकले दिनुभएको छ त्यो आदेशले नेपाल सरकार पुरातŒव विभाग तथा थाक क्षेत्रको १३ मुखिया प्रणाली एवं थकालीका सम्पूर्ण संगठन र थकाली जीवन पद्धतिको नै ठूलो मानहानि भएको छ । नरसाङ गोम्पा थकाली संस्कृतिको गोम्पा भएको हुनाले त्यो गोम्पामा गरिने सम्पूर्ण कामको जिम्मेवारी थकाली समाजले लिइरहेको थियो र लिइरहने छ ।
त्यो गोम्पासम्बन्धी कुनै पनि काममा बाहिरी हस्तक्षेप हुनु भनेको समाजमा विखण्डन पैदा गराउनु हो, समाजमा अशान्ति फैलाउनु हो । त्यसैले यो मुद्दाबाट लेखक अलग रहनु नै सर्वथा उचित देखिन्छ । बलवीर थकालीको सन्दर्भमा भन्नुपर्दा– डा. ढुंगेलको भनाइमा अवलोकेतेश्वर धातुको मूर्तिलाई ङरी क्षेत्रबाट ल्याई नरसाङ गोम्पामा स्थापना गरिएको थियो र त्यो सक्कली मूर्तिलाई लापत्ता पारेर १९औं शताब्दीमा बलवीर थकालीले कामरूपको मार्बलको मूर्ति ल्याई नरसाङ गोम्पामा स्थापना गरिएको हो । तसर्थ, त्यो नक्कली मूर्तिलाई हटाई सक्कली मूर्ति स्थापना गर्नुपर्छ र प्राचीन संस्कृतिको धरोहर बचाउनुपर्छ भन्ने जुन आरोप लगाइएको छ । यो आरोप सम्बन्धित केही सूक्ष्म विश्लेषण गरौं । पहिलो कुरा समय र कालको अनुगमन गर्दा इ.सी. संवत् ९औं शताब्दीमा नरसाङमा तिब्बती बौद्ध गोम्पा स्थापना हुनु असम्भव देखिन्छ । कारण इ.सी. संवत् १०औं शताब्दीको अन्त्यसम्म तिब्बतमा नै बुद्ध धर्म राम्ररी स्थापना हुन सकेको थिएन । बरु इ.सी. संवत् ९औं शताब्दीताका तिब्बतमा बोन धर्म मान्ने समुदायलाई दमन गर्दै देश निकाला गर्ने दबाब बढिसकेको थियो । त्यसैले ९औं शताब्दीताका बोन धर्म र झाँक्री प्रथा मान्ने समुदायहरू ल्हो मुस्ताङ हुँदै धार्मिक शरण लिन थाक क्षेत्रमा आएको स्पष्ट जानकारी हुन आउँछ । अर्को कुरा थाक क्षेत्र भौगोलिक रूपमा, वस्तुशास्त्र हिसाबले शक्तिपीठको केन्द्र मानिन्छ । थकाली जातिको संस्कृतिमा बोन धर्म र झाँक्री प्रथाको प्रभाव आजसम्म सशक्त रूपमा रहिरहनुका कारण प्राकृतिक हिसाबले भौगोलिक कारण र अलौकिक हिसाबले नरिच्ह्योव भगवान्को प्रभाव हुन् । वास्तवमा भगवान् नरिच्ह्योवको उत्पत्ति थाक क्षेत्रलाई शक्तिपीठको रूपमा स्थापना गर्न र त्यसलाई अनन्तकालसम्म संरक्षण गर्न उहाँको उत्पत्ति हुनु जरुरी थियो र उहाँको उत्पत्ति भयो । यस हिसाबले हेर्दा थाक क्षेत्रमा अवस्थित नरसाङ गोम्पा भगवान् नरिच्ह्योवको गोम्पा भएको र यसलाई तिब्बती बौद्ध धर्म र तिब्बतको ङरी क्षेत्रसँग जोडेर कल्पना गर्नु, कथा बनाउनु, केवल धर्मको नाममा अरूको पहिचान र अरूको अस्तित्वमाथि हस्तक्षेप गर्न खोजिएको सिवाए अरू के हुन सक्छ ? त्यसैले बलवीर थकालीमाथिको आरोप एक किसिमले पूर्वाग्रही धारणा मात्र हो भन्न सकिन्छ ।
हाम्रो अन्तिम प्रतिबद्धता

नरसाङ गोम्पामा भगवान् नरिच्ह्योव शक्तिपीठको रूपमा रहनुभएको छ । हामी सम्पूर्ण थकालीहरू शक्तिपीठकै आराधना गर्ने समुदाय हौं । यो कुनै धर्मसँग जोडिएको गोम्पा होइन । यो नरसाङ गोम्पा थकाली मौलिक संस्कृतिसँग अन्तर्घुलन भएको, थकाली जीवन पद्धतिसँग एकाकार भएको नाताले यो नरसाङ गोम्पा थकाली संस्कृतिको प्रतीक हो । यही विश्वास र आस्था हिजो थियो, आज पनि छ र भोलि अनन्त भविष्यसम्म रहनेछ । यो विश्वास र आस्थामाथि कसैले आक्रमण गर्न आउँछ भने हामी कुनै पनि हालतमा चुप लागेर बस्ने छैनौं । अतएव लेखकलाई हाम्रो अनुरोध के छ भने सबै नेपालीले अरू समाजको, संस्कृतिको सम्मान गर्ने हाम्रो ऐतिहासिक परम्परालाई पुनः स्थापित गर्दै अगाडि बढौं । यसैमा सबै नेपालीको कल्याण हुनेछ ।
(लेखक सरल गौचन थकाली अगुवा नागरिक समाजका सदस्य एवं दर्शनशास्त्रका अन्वेषक हुन् ।)

Source: Rajdhani Daily Nepal 
http://www.rajdhani.com.np/en/reference/23911-2014-03-07-23-27-19

No comments:

Post a Comment